यस वर्ष पनि अस्पतालमै चाड
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
गत वर्ष फूलपातीदेखि अस्पतालको शय्यामा रहेकी मलिना राउतको दसैं यस वर्ष पनि त्यहीं बित्नेछ । २१ औं जन्मदिन मनाएर काठमाडौंबाट घर फर्किंदै गर्दा बस दुर्घटनामा परेकी उनी त्यसयता निरन्तर उपचाररत छिन् ।
कालिञ्चोक युवा क्लबले रिजर्भमा लिएको बस दोलखाको लाकुरीडाँडामा दुर्घटना भएको थियो, जसमा राउत पनि थिइन् । दुर्घटनामा चालकसहित ११ जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढी घाइते भएका थिए । मृतकमध्ये १० जना दोलखा बजारकै बासिन्दा थिए । सोही कारण गत वर्ष देशभर दसैं मनाइरहँदा दोलखा बजार भने शोकमा थियो ।
शरीर नचल्ने अवस्थामा काभ्रेस्थित स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा भर्ना भएकी राउतले सात महिना त्यहीं बिताइन् । त्यसपछि काठमाडौं महाराजगन्जस्थित सहारा केयर अस्पतालमा उनको उपचार जारी छ । 'यहाँ आएपछि हातले मोबाइल समाएर कुरा गर्न सक्नेसम्म भएकी छु,' शय्याबाटै फोनमा उनले भनिन्, 'चाडपर्वमा हतारमा गाडी कुदाउने चालकले नभुलुन् कि सवारी दुर्घटनाबाट कसैको पनि मेरो जस्तो जिन्दगी बर्बाद नहोस् ।' वर्ष दिनदेखि छोरीको कुरुवा बसेकी कमलाले
ओछ्यानबाट उठ्नसम्म सक्ने भएकी उनको दसैं अस्पतालमै हुने बताइन् । स्टाफ नर्स पढाइ सकेर ग्लोबल अस्पतालमा जागिरे मलिनासित अहिले खाइपाई आएको जागिर पनि छैन । उनको दुःखेसो छ, यति ठूलो दुर्घटनामा पनि कतैबाट खासै सहयोग भएन ।
रातभर बस चलाएका चालकसँग सडकसम्बन्धी ज्ञान नभएकाले दुर्घटना भएको निष्कर्ष निकालिएको घाइते भएका क्लबका तत्कालीन अध्यक्ष गोपाल प्रधान बताउँछन् । कम्मरको हड्डी र खुट्टा भाँचिएका प्रधानलाई करिब तीन महिना ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचार गरिएको थियो । यस वर्षको दसैं पनि अपांग अवस्थामै बिताउनुपर्ने उनी बताउँछन् । 'तीन महिना अस्पताल र तीन महिना घरमा ओछ्यानमा सुतेर बिताएँ,' उनले भने, 'केही समय बैसाखीको मद्दत लिएँ, अहिले लौरो टेकेर हिंड्न सक्छु, नियमित काममा जान सकेको छैन ।'
सानो लापरबाहीले जिन्दगी नै बेहाल बनाइदिएको उनले बताए ।
चाडपर्वमा भीडभाड हुने र दिनरात एउटै चालकले सार्वजनिक सवारी साधन चलाउने कारण दुर्घटनाको जोखिम बढी भएको निष्कर्ष निकालेको क्लबले यस वर्ष भने रिजर्भ गर्न रोकेको छ । दसैंमा घर फिर्ने जिल्लावासीको सुविधाका लागि २५ वर्षयता बस रिजर्भ गर्ने चलन थियो । 'पोहोरको त्रासले त्यसो गर्न रोक्यौं,' क्लबका महासचिव अनिलचन्द्र श्रेष्ठले भने ।
दुर्घटनाका १० गम्भीर घाइतेमध्ये उज्ज्वल प्रधान पनि थिए । फिजियोथेरापीमा उनले धेरै दिन गुजारे, अझै पूर्ण स्वस्थ भइसकेका छैनन् । दुर्घटनाका कारण भीमेश्वर २ र ३ का कोर्छे, नक्छे, टवाल्चा, पाल्चुटी, पुरान्छे तथा लिस्टोलका श्रेष्ठ, प्रधान, मास्के, चाकुवजी परिवारमा बज्रपात भएको थियो । प्रधान एक, चाकुबजी दुई, मास्के दुई र श्रेष्ठ पाँच जनाको मृत्यु भएको थियो ।
यस वर्ष फूलपातीका दिन तिथिअनुसार वाषिर्की सकेर मात्र दुर्घटनाको जुठो समाप्त गर्ने योजनामा बजारवासी छन् । कालिञ्चोक युवा क्लबले दुर्घटना भएको दिन असोज २५ मा श्रद्धाञ्जलीसभा गर्ने तयारी गरिरहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses