मधेस आन्दोलनमा भारतीय संलग्नता प्रमाणित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
१६ कात्तिक, काठमाडौं । वीरगञ्जमा प्रहरीसित झडप हुँदा भारतीय नागरिकको मृत्यु भएको र मितेरी पुलको धर्नामा दुई भारतीय पक्राउ परेको घटनाले एकैसाथ धेरै प्रश्नहरुको जवाफ दिएको छ । मधेस आन्दोलन कसको प्रायोजन र संलग्नतामा भइरहेको छ भन्ने यो भन्दा भद्या पर्दाफास अर्को हुन सक्दैनथ्यो ।
एउटा देशभित्र राजनीतिक मागहरु लिएर भइरहेको आन्दोलनमा अर्को देशका नागरिक मारिनु सामान्य घटना होइन । मधेस आन्दोलनमा भारत प्रत्यक्षरुपमै संलग्न छ भन्ने अर्को प्रमाण अब खोजिरहनुपरेन । भारतीय नागरिकलाई दशगजामा गाली लागेको होइन, उनी वीरगञ्ज नगरपालिकाभित्र भएको झडपमा मारिएका हुन् ।
आन्दोलनकारी भनिने समूहले भारतको सीमामा उभिएर नेपाली प्रहरीलाई ढुंगा वषर्ाउनु, नेपालको भूमिभित्र भएको प्रहरी धरपकडमा दुई भारतीय नागरिकहरु पक्राउ पर्नु र नेपाली प्रहरीमाथि आइलाग्दा भारतीय नागरिकको मृत्यु हुनु जस्ता तीन संवेदनशील घटना एकै दिन भएका छन् ।
वीरगञ्जमा भएको आन्दोलनमा आफ्ना निर्दोष नागरिकको मृत्यु भएको भन्दै भारतले विज्ञप्ति जारी गरेको छ । जबकि उसले निर्दोष भनेका व्यक्ति नेपालमा बसेर आन्दोलनको आगूवाइ गर्दै नेपाली प्रहरीमाथि ढुंगामुढा गर्न तल्लीन थिए । आफ्ना नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गर्नुभन्दा पहिले उसले आन्दोलनमा आफ्ना नागरिक संलग्न रहेकोप्रति क्षमायाचना गर्नुपथ्र्यो । तर, भारतबाट यस्तो अपेक्षा अलि बढी नै हुन्छ सायद ।
आन्दोलनमा भारतीयको घुसपैठलाई लिएर नेपालले उसित स्पष्टीकरण सोध्नुपर्ने धारणा राख्छन् अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा. युवराज संग्रौला । उनी भन्छन्-‘अहिलेसम्म जुन कुरा हामीले भन्दै आएको थियौं, त्यो आज खुला रुपमा प्रमाणित भएको छ । भारतीयहरुकै संलग्नता र अगूवाइमा आन्दोलन भइरहेको पुष्टि भइसकेपछि यो विषयमा परराष्ट्रमन्त्रीले तत्कालै भारतीय राजदूतसित प्रष्टीकरण लिनुपर्छ ।’
तर, अहिलेसम्म नाकाबन्दी भन्ने शब्द नै उच्चारण गर्न नसकेका र भारतविरुद्ध संकलित हस्ताक्षर बुझ्नेसम्म साहस नगर्ने परराष्ट्रमन्त्रीले भारतीय राजदूतसित स्पष्टीकरण लिने अपेक्षा गर्नु पनि अलि बढी नै हुनेछ ।
भारतीय नागरिक आन्दोलनमा संलग्न रहेको पुष्टि भइसकेको अवस्थामा नेपालले अब सीमा क्षेत्रमा नयाँ रणनीति अपनाउनुपर्ने संग्रौलाको सुझाव छ । उनले भने-‘अब सीमामा व्यापक संख्यामा प्रहरी परिचालन गरेर आन्दोलनकारीलाई घेरा हाल्नुपर्छ । लाठीचार्ज वा अश्रुग्यास हानेर घेरा हालेपछि सामुहिक रुपमा पक्राउ गरी उनीहरुको नागरिकता हेर्नुपर्छ ।’
सीमाक्षेत्रमा भारतको एसएसबी जस्तै गरी सशस्त्र प्रहरीलाई छ्याप छ्याप्ती परिचालन गर्न उनको सुझाव छ ।
‘ढुंगा हान्न दिनु आक्रमणसरह’
भारतले आफ्नो देशको सीमाबाट आन्दोलनकारीलाई नेपालतर्फ ढुंगा हान्न छुट दिइरहेको छ । भारतीय प्रहरीकै नाकमुनीबाट नेपाली प्रहरीलाई ढुंगामुढा गरिएको घटना सामान्य झै भइसकेका छन् । तर, अन्तर्राष्ट्रिय कानूनलाई मध्यनजर गर्दा यो सामान्य नभएर अत्यन्त असामान्य घटना हो ।
कुनै पनि देशले आफ्नो सीमाबाट अर्को देशमा ढुंगा हान्न छुट दिनु भनेको अर्को देशमाथि हमला नै गरेसरहको अपराध हो भन्छन् अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा.संग्रौला ।
भारतीय प्रहीले यसरी ढुंगा हान्ने आन्दोलनकारीलाई नियन्त्रण होइन, संरक्षण गर्दै आइरहेको छ भन्दै उनले भारतकोे यस्तो कर्तुतको पर्दाफास अन्तर्राष्ट्रिय समुदायमा गर्नैपर्ने बताए ।
‘नाकाको ७ किलोमिटरदेखि २१ किलोमिटरसम्मको दुरी प्रायः देशहरुले निषेधित क्षेत्रका रुपमा कायम राखेका हुन्छन्’ संग्रौला भन्छन्-‘यो क्षेत्रमा कुनै पनि राजनीतिक गतिविधिहरु वर्जित हुन्छन् । तर, अहिले नाकामा मात्र नभएर दशगजामै गएर प्रदर्शन गर्दा पनि दुबैतर्फका प्रहरी रमिते बनिरहेका छन् ।’
शव के गर्ने ?
वीरगञ्जमा मारिएका भारतीयको शव अहिले वीरगञ्जकै अस्पतालमा राखिएको छ । उक्त शव चुपचाप भारतलाई हस्तान्तरण नगर्न संग्रौलाको सुझाव छ । ‘उक्त शवलाई रातारात सुटुक्क परिवारको जिम्मा लगाउनुहुँदैन’ उनी भन्छन्- ‘ती व्यक्ति नेपाल प्रहरीमाथि आक्रमणमा संलग्न रहेकाले भारतलाई चुपचाप बझाउने प्रश्नै उठ्दैन ।’
ती व्यक्तिको विषयमा भारतले क्षमा याचनासहितको स्पष्टीकरण दिएपछि मात्रै परिवारलाई शव जिम्मा लगाउनुपर्ने उनको भनाइ छ । सीमाक्षेत्रमा आज पक्राउ परेका भारतीय नागरिकहरुमाथि प्रहरीले मुद्दा चलाउनुपर्ने संग्रौलाले सुझाव दिएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses