यसरी घोषणा हुनेछ आइतबार साँझ ५ बजे नेपालको संविधान
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
गत भदौ ३० गतेको संविधानसभाबाट पारित तथा असोज १ गते सभासद्को हस्ताक्षरपछि सभाध्यक्षबाट प्रमाणीकरण गरिएको संविधान आइतबार साँझ ५ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने संविधानसभाको बैठकमा सोही दिनदेखि लागू भएको घोषणा हुनेछ । सभाको बैठकलाई औपचारिक राष्ट्रिय समारोहका रुपमा मनाउन सचिवालयले तयारी गरेको छ ।
सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार सभासद्को हस्ताक्षर र अध्यक्षले प्रमाणीकरण गरेको नेपाली कागजमा मुद्रित संविधानको पृष्ठ ३५० मा राष्ट्रपति डा रामवरण यादवले हस्ताक्षर गरी संविधान जारी भएको घोषणा गर्नेछन्।
सचिवालयले समारोहस्थलको सरसफाइ र सजावट तथा अन्य व्यवस्थापन गरिसकेको छ । सोका लागि सुरक्षा व्यवस्था पनि मजबुत बनाइने भएको छ ।
“संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालका संविधान असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु ” भन्ने बेहोरामा राष्ट्रपति डा यादवले हस्ताक्षर र त्यसको घोषणा गर्नेछन् । राष्ट्रपति डा यादवलाई सभाध्यक्ष नेम्वाङले पारित संविधान पेस गर्नेछन् ।
सचिवालयले मन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, पूर्वसभासद्, सरकारका उच्च अधिकारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक क्षेत्रका प्रतिनिधिलगायतलाई निम्तो दिएको छ ।
नेपाली जनताले इतिहासमै पहिलोपटक आफ्ना लागि आफैंले संविधान बनाएर जारी गर्ने ऐतिहासिक अवसर पाएका हुन् । संविधानसभाबाट बुधबार पारित भएको विधेयक आगामी असोज ३ गते आइतबार जारी भई संविधानको स्वरुप ग्रहण गरेपछि ६५ वर्षअघिदेखिको नेपाली जनताको चाहनाले मूर्त रुप लिनेछ ।
नेपाल सरकार वैधानिक कानुन २००४ देखि अन्तरिम संविधान २०६३ सम्म आइपुग्दा छ वटा संविधान आयोगबाटै बनाइए । ती संविधान न जनताबाट अनुमोदित भयो न त त्यसमा जनतालाई नै सहभागिता नै गराइयो । विश्वको इतिहासमै दोस्रो पटक गठित संविधानसभाले भने लामो प्रयाशपछि जनआकांक्षा पूरा गर्न सकेको हो ।
विसं २०६२/६३ को जनआन्दोलनपछि जनताका तर्फबाट पहिलोपटक निर्माण गरिएको नेपालको अन्तरिम संविधान २०६३ लाई अन्तरिम व्यवस्थापिका–संसदले २०६३ माघ १ गते अनुमोदन ग¥यो । बाह्र पटकसम्म संशोधन भएको सो संविधानले नेपालको सार्वभौमसत्ता एवम् राजकीय सत्ता नेपाली जनतामा निहीत गर्नुका साथै कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहीत, राष्ट्राध्यक्षको रुपमा राष्ट्रपतिको व्यवस्था, व्यवस्थापिका संसदको काम संविधानसभाले गर्नेजस्ता विशेषताहरुलाई अङ्गीकार गरेको थियो ।
असोज ३ गते नयाँ संविधान जारी भएपछि विद्यमान अन्तरिम संविधान खारेज हुनेछ र जनताका प्रतिनिधिबाट निर्माण गरिएको संविधान लागू हुनेछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses